न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम,५ चैत २०८२, बिहिवार — अंशु महतो हत्याकाण्डमा संलग्न दोषीहरूलाई कडा कारबाही गर्न माग गर्दै उच्च अदालत जनकपुर अगाडि प्रदर्शन गरिएको छ। बिहीबार उक्त घटनासम्बन्धी मुद्दाको पेशी उच्च अदालतमा रहेकोले पीडित पक्ष र स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।
धनुषा जिल्ला अदालतले आरोपी शिव कुमार महतोलाई २०८२ माघ १५ गतेदेखि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सो आदेशविरुद्ध उनले माघ २८ गते उच्च अदालत जनकपुरमा निवेदन दायर गरेका छन्।
पीडित पक्षका मामा जगदीश महतो अनुसार, घटनामा संलग्न भनिएका राकेश महतो र ललिता महतो अझैसम्म पक्राउ परेका छैनन्। मुख्य आरोपी पक्राउ परे पनि अन्य संलग्न व्यक्तिहरू फरार रहेकाले न्याय प्रक्रिया अधुरो रहेको उनीहरूको भनाइ छ।
पिडित परिवारजनले “अंशु महतोलाई न्याय देऊ”, “दोषीलाई कडा कारबाही गर”, “दाइजोका लागि बुहारी हत्या गर्न पाइँदैन”, “मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही होस्” लगायतका प्ले कार्ड बोकेर नाराबाजी गर्दै उच्च अदालत जनकपुर अगाडि प्रदर्शन गरेका छन्। साथै, सात महिनाकी गर्भवती अंशुको हत्यामा संलग्न सबैलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन माग गरिएको छ।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी सबै दोषीलाई कारबाही गर्न र न्याय सुनिश्चित गर्न राज्यसँग आग्रह गरेको छ।
अंशु महतोको ससुराली घर बटेश्वर गाउँपालिका–१, चित्रपुरमा रहेको छ भने माइती घर श्रीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरमा रहेको बताइएको छ।
