ओम प्रकाश
न्युज टाईम्स डेस्क–जनकपुरधाम।
“शरीरभित्रका नशाहरूको सरसफाइ हो रक्तदान” भन्ने सन्देशका साथ शहीद पत्रकार उमा सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवको प्रमुख आतिथ्य तथा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, जनकपुरधामका प्रमुख सतार अन्सारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सरसफाइ अभियानकर्मी धीरेन्द्र कुमार साहको विशेष पहलमा आयोजित कार्यक्रममा रक्तदानको महत्वबारे चर्चा–परिचर्चा गर्दै सहभागीहरूले रक्तदान गरेका थिए।
कार्यक्रम मधेश प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला (Province Public Health Laboratory), जनकपुरधामस्थित मधेश रक्त सञ्चार सेवामा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुरेश यादवले शहीद उमा सिंह सत्य र निर्भीक पत्रकारिताको प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “शहीदको सम्झना भाषण र माल्यार्पणमा सीमित नराखी समाज उपयोगी कार्यमार्फत गर्नुपर्छ, जसको उत्कृष्ट उदाहरण आजको रक्तदान कार्यक्रम हो।”
उहाँले उमा सिंहको हत्या खुकुरी प्रहारबाट भएको र अत्यधिक रक्तस्राव तथा दुर्लभ A Negative रक्तसमूह समयमै उपलब्ध नहुँदा ज्यान जोगाउन नसकिएको घटनालाई स्मरण गर्दै भन्नुभयो, “रक्त कुनै कारखानामा उत्पादन हुँदैन, त्यसैले स्वस्फूर्त रक्तदान आवश्यक छ। अब रक्तको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो।”
विशिष्ट अतिथि सतार अन्सारीले रक्तदानको वैज्ञानिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “रक्तदानले एकातिर स्वास्थ्य लाभ दिन्छ भने अर्कोतर्फ समाजमा आपसी सहयोग, मानवीय संवेदना र सामाजिक एकता मजबुत बनाउँछ। उमा सिंहको स्मृतिमा गरिएको यो अभियानले युवा पुस्तालाई सकारात्मक सन्देश दिएको छ।”
त्यसैगरी, सरसफाइ अभियानकर्मी धीरेन्द्र कुमार साहले आफ्ना धारणा राख्दै भन्नुभयो, “मेरी सिरहावासी बहिनी उमा सिंहजस्ता शहीदहरूको सपना सामाजिक अन्याय र हिंसामुक्त समाज हो। रक्तदानजस्तो पवित्र कार्यमार्फत त्यो सपना साकार बनाउने प्रयास नै सच्चा श्रद्धाञ्जली हो।”
उहाँले रक्तदानलाई “शरीरभित्रका नशाहरूको सरसफाइ” को संज्ञा दिँदै अरूको जीवन बचाउन सक्नु नै सच्चा मानव सेवा भएको बताउनुभयो।
कार्यक्रममा पत्रकार मुकेश ठाकुर, हदिश खुदार, सरोज मल्लिक, मोनु गुप्ता लगायतको सहभागिता रहेको थियो। अतिथिहरूका विचारले कार्यक्रमलाई केवल स्मृति कार्यक्रममा सीमित नराखी मानव सेवा, सामाजिक जिम्मेवारी र लोकतान्त्रिक मूल्यसँग जोडिएको अभियानका रूपमा स्थापित गरेको सहभागीहरूको भनाइ थियो।
यदपी, उमा सिंहको स्मृतिमा आयोजित रक्तदानले मानवीय एकताको सन्देश दियो।
