न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०७९ साउन १७ गते, शनिबार
सुख्खाग्रस्त मधेशमा पछिल्लो २४ घण्टामा परेको वर्षाले कृषक वर्गलाई ठूलो राहत पुर्याएको छ। लामो समयदेखि पानीको अभावका कारण चिन्तित रहेका किसानहरू वर्षासँगै रोपाइँमा जुट्न थालेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार धनुषा जिल्लाका दुई स्थानमा भारी वर्षा मापन गरिएको छ। तुलसीमा ६३.८ मिलिमिटर र हर्दिनाथमा ५१ मिलिमिटर वर्षा भएको हो। विभागका अनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा ‘भारी वर्षा’ मानिन्छ।
त्यस्तै, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ। यद्यपि यी स्थानहरूमा भारी वर्षाको सिमानामा नपुगे पनि उल्लेखनीय मात्रामा पानी परेकाले खेतमा पानी पुग्न थालेको छ।
सर्लाही, महोत्तरी, सप्तरी लगायतका अन्य मधेश प्रदेशका जिल्लाहरूमा पनि हल्कादेखि मध्यम खालको वर्षा भएको महाशाखाले जनाएको छ। पानी परेपछि किसानहरू खेतमा रोपाइँका तयारीमा जुटेको देखिन्छ।
वर्षाले खेतबारीमा जीवन स्फूर्ति ल्याएको छ भने कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।