न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८२ जेठ २९ — डिभिजन वन कार्यालय धनुषाको आयोजनामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी एक अन्तरक्रिया कार्यक्रम औरही गाउँपालिकामा सम्पन्न गरिएको छ। कार्यक्रमले जनावरका आक्रमणबाट स्थानीय समुदायमा उत्पन्न भइरहेका समस्याहरू समाधान गर्न सरोकारवालाबीच समन्वय र सहकार्यको आवश्यकतामाथि जोड दिएको छ।
कार्यक्रममा प्रमुख अतिथी औरही गाउपालिका अध्यक्ष उमा शंकर प्रसाद साह रहेका र अध्यक्षता वडा नम्बर २ का वडा अध्यक्ष किशुन यादव रहेका थिए। तालिममा ४० जनाको सहभागी रहेको थियो भने प्रस्तुतिकरण वन अधिकृत मनिष लामिछाने गरेका थिए।
वन अधिकृत लामिछानेका अनुसार, पछिल्लो समय धनुषा जिल्लाका विभिन्न स्थानहरूमा बँदेल, नीलगाई जस्ता वन्यजन्तुहरूको कारण खेतबारीमा क्षति पुग्न थालेपछि स्थानीयस्तरमा सचेतना र समन्वयको खाँचो महसुस भएको हो। “स्थानीय तहको सहभागिता र सहकार्यबिना मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान सम्भव छैन,” उनले बताए।
तालिममा वन्यजन्तुबाट हुने क्षतिको विवरण संकलन, राहत तथा क्षतिपूर्ति प्रक्रिया, वन्यजन्तुको बसोबास क्षेत्र संरक्षण, र चेतनामूलक अभियान सञ्चालन गर्नेबारे छलफल गरिएको थियो। समापनमा सहभागीहरूले आगामी दिनमा मानव र वन्यजन्तुबीचको सहअस्तित्वका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा उपाध्यक्ष पुनम कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादव, डिभिजन वन कार्यालयका प्रतिनिधि,जनप्रतिनिधि, कृषक तथा प्रभावित समुदायका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वन्यजन्तुबाट हुने क्षति र त्यसको न्यूनीकरणका उपायहरूबारे सुझाव प्रस्तुत गरेका थिए।