न्युज टाईम्स टिभी डेस्क, धनुषा, २०८२ वैशाख २४ –
धनुषा जिल्लाको औरही गाउँपालिका–१ स्थित श्री राम जानकी माध्यमिक विद्यालय, झिटकोहीयाँले शैक्षिक सत्र २०८२ को लागि विद्यार्थी भर्ना तथा नयाँ शैक्षिक कार्यक्रमको सुरुवात गरेको छ।
विद्यालयले बालविकासदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूका लागि भर्ना खुला गरेको छ। “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्रतिको सुनिश्चितता गरौं” भन्ने मूल नाराका साथ विद्यार्थी भर्ना अभियान २०८२ सञ्चालनमा ल्याइएको हो। विद्यालयले वैशाख मसान्तसम्म भर्ना प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।
बुधबारको दिन विद्यालयले औरही गाउँपालिका वडा नम्बर २ भराक र वडा नम्बर ३ बिकमपुरमा घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो। अभियान अन्तर्गत स्थानीय घर–घरमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गराउने प्रेरणा दिइएको थियो। घरदैलो अभियानपछि सहभागी विद्यार्थीहरूलाई दही–चिउरा खुवाइएको प्रधानाध्यापक बद्री नारायण यादवले जानकारी दिए ।
यसैबीच, व्यवस्थापन समितिका अध्यक्ष सुजित कुमार यादवले भोलि बिहीबार हंसपुर नगरपालिका वडा नम्बर ९ मोरहा, वडा नम्बर ४ अन्तर्गत तिसियाही र सुगा मौदकरही, साथै औरही गाउँपालिका वडा नम्बर १ झिटकोहीयाँमा पनि घरदैलो कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।
भर्ना अभियानमा व्यवस्थापन समितिका अध्यक्ष यादव, विद्यालयका प्रधानाध्यापक बद्री नारायण यादव, शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
