धनुषा — ओरही गाउँपालिकाको १०औँ गाउँसभामा उपाध्यक्ष पुनम कुमार साहले चालु आर्थिक वर्ष २०८२/८३ का लागि संशोधित कार्यक्रम तथा बजेट प्रस्ताव प्रस्तुत गरेका छन्। गाउँसभामा अध्यक्ष उमा शंकर प्रसाद साह, उपाध्यक्ष साह, प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव, वडा अध्यक्षहरु, सदस्यहरू, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थितिमा प्रस्ताव पेश गरिएको हो।
प्रस्तुत विवरण अनुसार चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम कार्यान्वयनको क्रममा हालसम्म विभिन्न शीर्षकबाट ३७ वटा कार्यक्रम सञ्चालनमा रहेका छन्। कुल विनियोजित बजेट करिब ३८ करोड १६ लाख ८२ हजार रुपैयाँ रहेकोमा हालसम्म ११ करोड ६८ लाख २१ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ, जुन कुल विनियोजनको करिब ३०.६१ प्रतिशत हो। खर्चमध्ये चालु खर्च ४३.७७ प्रतिशत र पूँजीगत खर्च १.५ प्रतिशत रहेको जनाइएको छ। क्षेत्रगत रूपमा आर्थिक विकासतर्फ ५.१ प्रतिशत, सामाजिक विकासतर्फ ४३.४३ प्रतिशत, पूर्वाधार विकासतर्फ १.८२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५२.३५ प्रतिशत तथा कार्यालय सञ्चालनतर्फ ३१.५ प्रतिशत खर्च भएको जानकारी दिइएको छ।
राजस्वतर्फ चालु आर्थिक वर्षमा ३ करोड ३३ लाख ५६ हजार रुपैयाँ लक्ष्य राखिएकोमा हालसम्म ३ करोड १६ लाख ४६ हजार रुपैयाँ संकलन भएको छ। संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त तथा समपूरक अनुदानतर्फ २६ करोड ३ लाख रुपैयाँ लक्ष्य रहेकोमा १८ करोड १२ लाख १७ हजार रुपैयाँ प्राप्त भएको छ। प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमध्ये ६४ लाख अनुमान गरिएकोमा १० लाख रुपैयाँ प्राप्त भएको उल्लेख छ। संघ, प्रदेश र स्थानीय राजस्व बाँडफाँडतर्फ ८ करोड २३ लाख ५५ हजार रुपैयाँ लक्ष्य रहेकोमा हालसम्म ४ करोड ७८ लाख ११ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ।
वार्षिक खरिद योजना तथा चौमासिक प्रगति विवरणका आधारमा केही कार्यक्रम परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको भन्दै विनियोजित बजेटमा समायोजन गरी संशोधन प्रस्ताव गरिएको उपाध्यक्ष साहले बताए। केही योजना सञ्चालन हुन नसक्ने, केही बहुवर्षीय योजनामा समय लाग्ने तथा अत्यावश्यक कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव ल्याइएको जनाइएको छ।
उक्त संशोधन प्रस्ताव कार्यपालिका बैठकबाट सर्वसम्मत पारित भई गाउँसभामा पेश गरिएको र छलफलपछि स्वीकृत गरिने अपेक्षा गरिएको छ। प्रस्ताव स्वीकृत भएपछि बाँकी अवधिमा कार्यक्रम कार्यान्वयन थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
