न्युज टाईम्स टिभी डेस्क जनकपुरधाम, –
जनकपुरधाम उपमहानगरपालिका-२१, कुर्थाका जेन्जी समुदायका युवाहरूले वडा कार्यालय र श्री राजर्षि जनक माध्यमिक विद्यालयमा आवश्यक वित्तीय तथा प्रशासनिक विवरण उपलब्ध गराइदिन आग्रह गरेका छन्।
वडा कार्यालयलाई बुझाइएको पत्रअनुसार, आर्थिक वर्ष २०८२/०८३ का लागि सो वडामा कति बजेट विनियोजन गरिएको छ र कुन-कुन शीर्षकमा कति रकम छुट्याइएको छ भन्ने विस्तृत जानकारी युवाहरूले मागेका छन्। उनीहरूले यस विवरण वडामा सञ्चालन हुने योजना तथा कार्यक्रममा पारदर्शिता कायम गर्न र समाजमा देखापर्ने विभिन्न विकृति तथा विसंगति नियन्त्रण गर्न अत्यन्त आवश्यक रहेको बताए।
त्यसैगरी, विद्यालय प्रशासनलाई बुझाइएको निवेदनमा आर्थिक वर्ष २०७१/७२ देखि २०८१/८२ सम्मको आय–व्यय प्रतिवेदन, कर्मचारी विवरण, हाजिरी रजिष्टर, डोर हाजिरी कामदारको विवरण, विद्यालयको चल-अचल सम्पत्ति, व्यवस्थापक समितिको इतिहास र बैंक खाताहरूको विवरण माग गरिएको छ। यस्ता विवरण उपलब्ध गराउँदा विद्यालयको समग्र प्रगति, वित्तीय पारदर्शिता र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
यता, जेनजी युवा दिपपक कुमार मण्डलका अनुसार , यी कदमले नकेवल वित्तीय र प्रशासनिक पारदर्शिता बढाउनेछ, तर वडामा सामाजिक जागरुकता र सहभागिता पनि मजबुत बनाउनेछ। विवाह पञ्चमी लगत्तै माग गरिएका विवरणहरू उपलब्ध गराउने वडाध्यक्ष राजनारायण शाहले प्रतिवद्धता जनाएको उनले जानकारी दिए। विद्यालय प्रशासनले आवश्यक जानकारी छिटो उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

