न्युज टाईम्स टिभी डेस्क, धनुषा, २३ वैशाख २०८२, मंगलवार —
नेपाल विद्युत प्राधिकरण अन्तर्गत धनुषाधाम वितरण केन्द्रले धनुषा जिल्लाको बिरेन्द्रबजारमा निर्माण गरिएको नयाँ विद्युत सबस्टेशन आजदेखि सञ्चालनमा ल्याएको छ। मधेश प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरणको पी.एम.डी. निर्देशनालयको आयोजनामा निर्माण सम्पन्न उक्त सबस्टेशनले क्षेत्रको विद्युत आपूर्ति प्रणालीमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।
सबस्टेशनको सञ्चालनसँगै यस क्षेत्रका बासिन्दाले निम्न भोल्टेज (लो-भोल्टेज) तथा अस्थिर विद्युत आपूर्ति जस्ता समस्याबाट मुक्ति पाउनेछन्। आयोजनाका प्रमुख बिरेन्द्र कुमार झाले जानकारी दिनुहुँदै, हाल करिब २०० किलोमिटर दूरीमा रहेको धनुषाधाम सबस्टेशनबाट सञ्चालित गोदार फिडरको लोड घटाउन यो सबस्टेशनले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो।
साथै, धनुषाधाम र बिरेन्द्रबजार सबस्टेशनबीच केही फिडरहरू रिङ मेन फिडर प्रणाली अन्तर्गत सञ्चालनमा ल्याइने योजना रहेको छ, जसले विद्युत आपूर्तिको विश्वसनीयता थप बलियो बनाउनेछ।
धनुषाधाम वितरण केन्द्रका प्रमुख रोशन कुमार सिंहले सबै सेवाग्राहीहरूलाई जानकारी गराउँदै, सबस्टेशनको सञ्चालनपछि क्षेत्रमा थप स्थिर र गुणस्तरीय सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो।
उक्त आयोजनामा सहयोग पुर्याउनु हुने धनुषा क्षेत्र नं. १ का प्रदेश सांसद माननीय संजय कुमार महतो, गणेशमानचारनाथ नगरपालिकाका मेयर जीतनारायण यादव, तथा वडा अध्यक्षज्यूहरूलाई प्राधिकरणले विशेष धन्यवाद प्रकट गरेको छ।
यसैबीच, धनुषाधाम–४ का वडा अध्यक्ष मनोज कुमार यादवलाई पनि बिशेष धन्यवाद दिँदै, आयोजनाका सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरिएको छ।
प्राधिकरणले आगामी दिनमा पनि सेवा प्रवाहमा थप सुधार ल्याउँदै स्थानीय बासिन्दाको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेको छ।