७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बृहत र्‍याली


न्युज टाईम्स टिभी डेस्क – सप्तरी । ०८२ मंसिर २४ गते
७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्ला सदरमूकाम राजविराजमा बृहत र्‍यालीको आयोजना गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश लगायत संघ संस्थाहरुको संयुक्त आयोजनामा मंसिर २४ गते विहान र्‍यालीको आयोजना गरिएको हो ।

यस वर्ष ‘‘घरघरबाट सुरु गरौँ, घरेलु हिंसा अन्त्य गरौँ, मानव अधिकारको रक्षा गरौँ, ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सफल पारौँ’’ भन्ने मुख्य संदेशलाई केन्द्रमा राखेर र्‍यालीको आयोजना गरिएको थियो। सहभागीहरुले नारासहितको प्लेकार्ड, ब्यानर र झाँकी लिएर मानव अधिकारको संरक्षण, लैङ्गिक हिंसा रोकथाम, सामाजिक न्याय, समानता, शान्ति तथा सु–शासनका माग गर्दै राजविराज बजार क्षेत्रको परिक्रममा गरेका थिए।

शिव मन्दिरबाट र्‍याली सुरु भई जिल्ला प्रशासन कार्यालय, खानेपानी कार्यालय, महावीर चौक, गजेन्द्र चौक, दशन चौक, राममन्दिर, अदालत रोड हुँदै नगरपालिका रोड हुँदै नेपाल पत्रकार महासंघ राजविराज शाखाको कार्यालयमा पुगेको थियो । र्‍यालीको उद्देश्य मानव अधिकारप्रति जागरुकता बढाउने, समुदायमा देखिने हिंसा तथा विभेदका घटनाप्रति समाजलाई संवेदनशील बनाउने तथा सबै पक्षलाई दायित्वबोध गराउने रहेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।
र्‍यालीमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी टुवराज पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरू, गैरसरकारी संस्थाका पदाधिकारीहरु, सुरक्षाकर्मी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागीता थियो।
सहभागीहरूले मानव अधिकार दिवस केबल औपचारिकता नभई व्यावहारिक रूपमा नागरिकको मर्यादा, स्वतन्त्रता र सुरक्षासँग जोडिएको मुद्दा भएको भन्दै राज्यका सबै निकायलाई संवेदनशील बन्न आग्रह गरेका थिए।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *