कटहरीया PHC मा २४ घण्टा आपतकालीन सेवा नाममै सीमित, अन्य जाँच सेवामा पनि लापरवाही !

दिपेश कुमार शाह
न्युज टाईम्स टिभी डेस्क – रौतहट। कटहरीया नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र (PHC) ले कागजमा भने २४ घण्टा आपतकालीन (इमर्जेन्सी) सेवा सञ्चालनमा रहेको जनाए पनि व्यवहारमा भने सेवा नाममै सीमित रहेको गुनासो बढ्दै गएको छ।
स्थानीय सेवाग्राहीहरूका अनुसार आकस्मिक अवस्थाका बिरामी लिएर स्वास्थ्य केन्द्र पुग्दा समेत चिकित्सक वा सम्बन्धित स्वास्थ्यकर्मी समयमै उपलब्ध नहुने अवस्था बारम्बार दोहोरिने गरेको छ।

स्वास्थ्य केन्द्रमा USG मात्र होइन, अन्य जाँच सेवाहरू जस्तै रगत परीक्षण, सामान्य ल्याब जाँच, प्रेसर, सुगर परीक्षण लगायतका सेवामा पनि ढिलासुस्ती र लापरवाही देखिएको सेवाग्राहीहरूको भनाइ छ। कतिपय अवस्थामा आवश्यक उपकरण हुँदाहुँदै पनि कर्मचारीको अभाव वा इच्छाशक्ति नहुँदा सेवा प्रभावित हुने गरेको आरोप लगाइएको छ।

स्थानीय नागरिकहरूका अनुसार बिरामीहरू घण्टौँसम्म लामो लाइनमा प्रतिक्षा गर्न बाध्य हुन्छन्, तर सोही समयमा कर्मचारीहरू भने बारम्बार भित्री मिटिङ्गमा व्यस्त हुने गरेका छन्। “२४ घण्टा सेवा भनेर बोर्ड टाँसिएको छ, तर राति वा आकस्मिक समयमा आएपछि ढोका बन्द हुन्छ,” एक सेवाग्राहीले गुनासो गरे।

विशेषगरी आपतकालीन सेवाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सुत्केरी, दुर्घटना र आकस्मिक बिरामीहरूलाई तुरुन्त सेवा दिनुपर्ने भए पनि स्वास्थ्यकर्मी समयमै नआउने, वा “रेफर मात्र गर्ने” प्रवृत्ति बढ्दै गएको स्थानीयको आरोप छ। यसले गर्दा गरिब तथा सर्वसाधारण नागरिकहरू निजी अस्पताल जान बाध्य भई आर्थिक बोझ खेप्नुपर्ने अवस्था सिर्जना भएको छ।

सेवाग्राहीहरूका अनुसार स्वास्थ्य केन्द्रमा कार्यरत केही कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी स्पष्ट नलिने र काम एक–अर्कामा थोपर्ने प्रवृत्ति हावी भएको छ। यसले समग्र सेवा प्रवाह कमजोर बन्दै गएको उनीहरूको ठम्याइ छ।

स्वास्थ्य सेवा नाफाको माध्यम होइन, जनताको आधारभूत अधिकार भएको उल्लेख गर्दै स्थानीय नागरिकहरूले कटहरीया PHC मा रहेको २४ घण्टा आपतकालीन सेवा वास्तवमै प्रभावकारी रूपमा सञ्चालन गर्न, सबै जाँच सेवामा नियमितता र पारदर्शिता ल्याउन, तथा कर्मचारीहरूलाई उत्तरदायी बनाउने व्यवस्था लागू गर्न माग गरेका छन्।

यस विषयमा सम्बन्धित स्वास्थ्य निकाय र स्थानीय सरकारको तत्काल अनुगमन तथा हस्तक्षेप आवश्यक रहेको स्थानीयहरूको जोड छ। समस्या समयमै समाधान नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत उनीहरूले दिएका छन्।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *