शिक्षकको अभावमा सबैला नगरपालिकाका एक वडाध्यक्षले नगरपालिका भवनमै बिताए रात अनिश्चितकालीन हड्तालको चेतावनी

प्रमोद शर्मा, न्युज टाईम्स डेस्क, बुधबार,माघ ३० गते, २०८१
सबैला नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सरोज यादव शिक्षा सुधार तथा शिक्षक पूर्तिको माग गर्दै नगरपालिकामा रात बिताउन बाध्य भएका छन्। शिक्षाको अभावका कारण विद्यार्थीहरूको भविष्य अन्धकारमय बन्दै गएको भन्दै उनले तत्काल शिक्षक उपलब्ध गराउन माग गरेका छन्।

वडाध्यक्ष यादवको नेतृत्वमा हिजो केही विद्यार्थीलाई ट्याक्टरमा राखेर समस्या सुनाउन नगरपालिकामा ल्याइए पनि कुनै सुनवाई नभएपछि उनीहरूलाई घर फर्काई वडाध्यक्ष नगरपालिकामै धर्ना बस्न पुगे। फेसबुक लाइभमार्फत वडाध्यक्ष यादवले चेतावनी दिँदै भने, यदि शिक्षक उपलब्ध नगराइए, हामी नगरपालिकामा अनिश्चितकालीन धर्नामा बस्नेछौं। अहिले हामी वडाकार्यालय तथा विद्यालय बन्द गरेर यहाँ आएका छौं। हामी यहाँबाट शिक्षक लिएर मात्रै फर्किनेछौं।

वडा नम्बर ११ मा आठ कक्षासम्म पठनपाठन भए पनि त्यहाँ शिक्षक केवल तीन जना मात्र रहेका छन्, जसका कारण विद्यार्थीहरूको अध्ययन प्रभावित भइरहेको वडाध्यक्ष यादवले बताए। साथै वार्डमा कम्प्युटर अपरेटरको अभावले पनि स्थानीयवासीलाई सेवा लिन कठिनाइ भइरहेको छ।

यो समस्या केवल वडा नम्बर ११ मा सीमित नभई, सबैला नगरपालिकाका अन्य विद्यालयहरूमा पनि समान रूपमा देखिएको छ। वडाध्यक्ष यादवले पटक–पटक कार्यपालिका बैठकमा शिक्षक पूर्तिको विषय उठाए पनि कुनै सुनवाई नभएको गुनासो गरे। बाध्य भएर हामी नगरपालिकामै रात बिताउनुपर्यो,उनले भने।

शिक्षा प्रणालीको सुधारका लागि वडाध्यक्ष यादवको नेतृत्वमा भइरहेको यो आन्दोलनले सबैला नगरपालिकाका अन्य वडाहरूमा पनि असर पार्ने देखिएको छ। स्थानीय तहले यस विषयमा तत्काल पहल नगरे शिक्षाको अवस्था झन् जटिल हुने देखिन्छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *