बालअधिकार सचेतना समूहद्वारा ध्यानाकर्षण पत्र हस्तान्तरण !!

सन्तोष कुमार यादव
धनुषा ०८१ असार २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा गठित प्रदेश स्तरीय बालअधिकार सचेतना समूहले ०८१ असार २५ गते खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेश सरकारका माननीय मन्त्री प्रमोद जयसवाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नु भएको छ ।

इन्सेक मधेस प्रदेश कार्यालयमा असार २५ गते बालअधिकार सचेतना समूहका अध्यक्ष सन्देश कुमार साहकाे अध्यक्षतामा बसेको बैठकबाट बालअधिकार सचेतना समूहका बालबालिकाहरूले बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा बालबालिकाहरूको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने समस्याहरूकाे पहिचान गरी ती समस्याहरूको सामाधानका लागि खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेश सरकारका माननीय मन्त्री प्रमोद जयसवाललाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गर्नुभएको थियो । बैठकमा इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, प्रदेश स्तरीय बालअधिकार सचेतना समूहका प्रतिनिधिहरू, इन्सेक धनुषा जिल्ला सहजकर्ता, कार्यक्रम फोकल पर्सन बरुण बस्याल र प्रलेख अधिकृत मोहनकुमार चौधरीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

ध्यानाकर्षण पत्रमा नेपालको संविधानको धारा ३९ मा उल्लेखित बालबालिकाको हक, धारा ३१ मा उल्लेखित शिक्षाको हक, बालबालिका सम्बन्धी महासन्धी १९८९ र बालबालिका संरक्षण ऐन २०७५ मा संरक्षित बालबालिकाहरूका हकहरूलाई संरक्षण गर्नका लागि विभिन्न ६ ओटा मागहरू उल्लेख गरिएको छ ।

मिथिला नगरपालिकको वडा नं ६ स्थित महेन्द« माध्यमिक विद्यालयमा अर्थशास्त्र, लेखा र नेपाली विषयका विषयगत शिक्षकको अभाव भएको हुँदा त्यसको समाधानका लागि आवश्यक पहल गर्नु हुन, मिथिला नगरपालिकाको जनता माध्यमिक विद्यालयमा राजनीतिक विवादका कारण विद्यालय व्यवस्थापन समिति गठन नभएको हुदाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न सहजिकरण गर्नु हुन, मिथिला नगरपालिकको वडा नं ७ मा ट्रयाक्टर, होटल, क्रसर उद्योग र ग्यारेजहरूमा बालश्रम भएको हुँदा आवश्यक अनुगमन र कारबाही गर्नु हुन, मिथिला नगरपालिकाको वडा नं २ स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गगणमा विद्यालय समय अघि र पछि बालबालिकाहरूले लागु औषध प्रयोग गर्ने गरेको हुँदा आवश्यक अनुगमन र नियमन गर्नु हुन, बटेश्वर गाँउपालिका वडा नं. २ स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय पछाडी बालबालिकाहरूद्धारा लागु औषध प्रयोग गर्ने गरिएकोमा आवश्यक अनुगमन र नियमन गर्नु हुन, बटेश्वर गाँउपालिका वडा नं. १ चित्रपुर स्थित गंगाराम महतोका दुई छोरीहरू (बालिकाहरू) आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जानबाट बञ्चित भएकोले आवश्यक अनुगमनका लागी पहल गर्नु हुन जस्ता मागहरू ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको ।

ध्यानाकर्षण पत्र बुझ्दै माननीय मन्त्री प्रमोद जयसवाले पत्रमा उल्लेखित विद्यालयलगायतका सार्वजनिक स्थलमा लागु औषध सेवन र बालश्रम निर्मुलका लागि आवश्यक अनुगमन तथा नियमन जस्ता मागहरूलाई सम्बोधन गर्नका निम्ति सम्बन्धित निकायलाई यथा सिघ्र परिपत्र गर्ने बताउनुहुँदै विद्यालय व्यवस्थापन र शिक्षक अभावलगायतका शिक्षासँग जोडिएका समस्याहरू आफ्नो मन्त्रालय अन्तरगत नपरेपनि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सम्बोधन गर्ने आश्वासन दिनु भयो ।

यसैबीच इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले माननीय मन्त्री जयसवाललाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गर्नु भयो ।

                             
Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *