सन्तोष कुमार यादव
न्युज टाईम्स टिभी डेस्क,- जुम्ला ०८२ वैशाख २२ गते
कर्णाली प्रदेशमा कम उमेरमा विवाह गर्ने र २० वर्षभन्दा पहिले नै गर्भवती हुनेको दर धेरै रहेको पाइएको छ । सामाजिक विकास मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्णालीमा प्रदेशमा हालै यस्तोे तथ्याङ्क सार्वजनिक गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी बस्नेतका अनुसार कर्णाली प्रदेशमा जम्मा गर्भवती हुने मध्ये २१ प्रतिशत २० वर्ष मुनिका किशोरीहरू रहेका छन् । सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन् । जुन नेपालका सात ओटै प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।
सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काका अनुसार गर्भवती हुँदा १५ देखि ४९ उमेर समूहमा ७ वर्षअघि ४.२ प्रतिशत र ३ वर्षयता ४.८ प्रतिशत लैङ्गिक हिंसाका घटना हुने गरेका छन् । लैङ्गिक हिंसा हुने दर विगतभन्दा ३ वर्षयता बढेको उहाँको भनाइ छ । उहाँका अनुसार कर्णालीमा महिलामाथि हुने शारीरिक हिंसाका घटनाहरू पनि बढ्दै गएको अवस्था छ । विगत ७ वर्ष पहिला कर्णालीमा महिला हिंसा १५ प्रतिशत रहेकोमा ३ वर्षयता १६.७ प्रतिशत पुगेको छ । महिलाहरूमाथि हुने यौन दुर्व्यवहारका घटनाहरू पनि बढिरहेको मन्त्रालयको तथ्याङ्कमा छ ।
यस्तै कर्णालीमा २० देखि २४ वर्ष उमेर समूहका २९ प्रतिशत महिलाहरूको विवाह १८ वर्षसम्म भएको देखिएको छ । प्रदेश सरकारले तयार पारेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ कार्यान्वयनमा हुँदा हुँदै पनि कम उमेरमा हुने विवाह र हिंसाका घटना न्यूनीकरण हुन सकिरहेको अवस्था छैन । तर यस नीतिका कारण लैङ्गिक हिंसाविरुद्ध सचेतना, रोकथाम तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरू भने प्रदेशभर गर्दै आएको छ ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजनाले लैगिक हिंसा न्यूनीकरण तथा उमेर नपुगी हुने विवाहलाई रोक्न सहयोग पुग्ने बताउनु भयो ।