महायज्ञका लागि दलितको घर भत्काएको घटनाको इन्सेकको अनुगमन !!

न्युज टाईम्स टिभी डेस्क, सिरहा ०८१ चैत २४ गते, आइतबार
औरही गाउँपालिका-५ का डोम समुदायका ३५ वर्षीय दिपक मरिकको घर गाउँपालिका अध्यक्षले डोजर लगाई भत्काएको घटनाको समाचार प्रकाशित भए पछि तथ्य बुझन इन्सेक र अधिकारकर्मीहरूको टोली ०८१ चैत १८ गते स्थलगत अनुगमन गरेको छ ।

इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा र दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश बिसुन्के लगायतको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको हो ।

स्थलगत अनुगमनको क्रममा टोलीले पीडित दिपक मल्लिकका छोरा अर्जुन मल्लिकसँग भेटघाट गरी घटना बारे जानकारी लिएको हो । अनुगमन टोलीसँग मरिकले आफूहरू गाउँपालिकाको ऐलानी जग्गामा विगत ३० वर्षयता बस्दै आएको र अहिले आएर गाउँपालिकाले महायज्ञका नाममा डोजर प्रयोग गरी घर भत्काएको बताउनु भयो । हाम्रो नाममा जमिन नभएको र ऐलानी जग्गामा घर बनाएर बस्दै आएकोमा सो समेत गाउँपालिकाले भत्काएर घरवारविहीन बनाएको पीडित मरिकले बताउनु भयो । जनता आवास कार्यक्रमको सहयोगमा घर बनाएर बसिरहेको अवस्थामा गाउँपालिकाले डोजरले चलाएको पीडितले बताउनु भयो ।

त्यसैगरी, आमा स्वास्थ्य कार्यालय र बुवा पालिकामा करारमा सरसफाई कर्मचारीको रुपमा कार्यरत छन् । महायज्ञको नाममा हामीलाई बजरङ्गी बाबा र गाउँपालिका अध्यक्ष शिवजी यादवको निर्देशनमा ०८१ फागुन ६ गते डोजर लगाई घर भत्काएको पीडितले अनुगमन टोलीलाई बताउनु भयो ।

सोही क्रममा पीडित मरिकले गाउँपालिका अध्यक्षको निर्देशनमा विद्यालयको स्वामित्वमा रहेको ऐलानी जग्गामा दई कोठाको फुसको घर निर्माण गरिदिएको बताउनु भयो । जसमा खाने पानी र बत्तीको उचित व्यवस्था गरिदिए तापनि शौचालयको व्यवस्था भने गरेको छैन । साथै, कुन बेला विद्यालयले जग्गा खाली गराउने हो ठेगान छैन पीडित मरिकले दुःखेसो सुनाउनु भयो ।

मरिकका अनुसार आरोतिहरूविरुद्ध बुवाले जिल्ला प्रहरी कार्यालयमा ०८१ चैत ९ गते उजुरी दिनु भयो ।

अनुगमनको क्रममा मानव अधिकारकर्मी टालीले गाउँपालिका अध्यक्ष शिवजी यादवसँग भेटघाट गर्नु भयो । अध्यक्ष यादवले अधिकारकर्मीसँगको भेटमा संघीय सरकारको अनुदानमा कृषि बजारीकरणको लागि भवनहरू निर्माणका लागि ३ करोड २५ लाख रुपियाँ स्वीकृत भएको र यसको टेन्डर प्रक्रिया पनि पुरा भएको बताउनु भयो ।

कृषि बजार निर्माणको लागि निर्धारण गरिएको ठाउँमा दीपक मरिकको घर भएको र ऐलानी जग्गा खाली गर्ने क्रममा दीपक मरिकको घर हटाइएको अध्यक्ष यादवले बताउनु भयो ।

त्यसैकोलागि उसकै सहमतीमा उनको घर बनाई दिएर भत्काए तापनि बिपक्षी दलको लहै लहैमा लागेर म विरुद्ध उजुरी दिएको अध्यक्ष यादवले बताउनु भयो । साथै अनुसन्धानका लागि सोधपुछ गर्न आफूलाई प्रहरीले नियन्त्रणमा लिएको भए तापनि आफू निर्दाेष रहेका कारण छुट्न सफल भएको र अहिले महायज्ञ शुरु भएको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्र पासवानले गाउँपालिका अध्यक्ष लगायतका आरोपितहरूविरुद्धको उजुरी दर्ता गरी आरोपितहरूलाई चैत ८ गते गिरफ्तार गरेको र जिल्ला अदालतको आदेशमा आरोपितहरू जनही १ लाख रुपियाँ धरौटीमा रिहा भएको बताउनु भयो ।

इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले निर्माणाधिन घर भत्काएर पीडित परिवारको बिच्चली भएको बताउनु भयो । प्रहरीले पनि दर्ता भएको उजुरीलाई ६ दिनमै टुङ्ग्याएर अदालतमा बुझाएर शक्तिको संरक्षण गरेको देखिन्छ भने अव दलित परिवारको रोजगार सँगै गास वास खोसिने समस्या भएकोले राज्यले दिपकको परिवारको व्यवस्थापन, रोजगारी र सुरक्षाको प्रत्याभूती गराउनु पर्ने बताउनु भयो ।

अनततः अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासत कक्ष पनि अनुगमन गरेको संयोजक पासवानले बताउनु भयो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *